कैलाली- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेका होटल डिभोटीसहित ५३ वटा व्यावसायिक संस्थाले लामो समयदेखि राज्यलाई तिर्नुपर्ने कर नतिरेको खुलेको छ ।
आन्तरिक राजस्व कार्यालय, धनगढीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै समयमै कर नतिर्ने, पटक–पटक ताकेता गर्दा पनि अटेरी गर्ने तथा केही सम्पर्कविहीन भएका व्यवसायीहरूको नामावली सार्वजनिक गरेको हो ।
कार्यालयले १५ दिनभित्र बक्यौता कर चुक्ता नगरे कानुनअनुसार चल–अचल सम्पत्ति रोक्का गरी थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
राजस्व कार्यालयका अनुसार कर बक्यौता रहेका व्यवसायीलाई यसअघि फोन, एसएमएस र पत्राचारमार्फत जानकारी गराइएको थियो । तर, कतिपयले अटेर गरेपछि र केही सम्पर्कविहीन भएपछि सार्वजनिक सूचनामार्फत नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।
सूचनामा तोकिएको अवधिभित्र कर नबुझाए मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा आयकर ऐन, २०५८ अनुसार बैंक खाता रोक्का गर्ने, चल–अचल सम्पत्ति जफत गरी लिलाम बिक्री गर्ने तथा व्यावसायिक कारोबार र आयात–निर्यातसमेत रोक्का गरिने उल्लेख गरिएको छ ।














