२०८३ जेष्ठ ३
खाेज्नुहाेस
विज्ञापन

साइपाल बेसक्याम्पमा बढ्यो आन्तरिक पर्यटन

विज्ञापन
Image
विज्ञापन

बझाङ-  बझाङको दुर्गम साइपाल क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढ्न थालेको छ । विशेषगरी दुई दिने सार्वजनिक बिदा (शनिबार र आइतबार) लागू भएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका कर्मचारी तथा घुमफिरप्रेमीहरू साइपाल बेसक्याम्प पुग्न थालेका हुन् ।

बैतडीको सूर्नया गाउँपालिकाका हरिश अवस्थी एभरेष्ट बैंकको साइपाल शाखामा कार्यरत छन् । करिब दुई वर्षदेखि साइपालकै धलौन क्षेत्रमा काम गरिरहेका उनी लामो समयदेखि साइपाल बेसक्याम्प पुग्ने योजनामा थिए । तर कामको व्यस्तता र बिदा अभावका कारण उनको चाहना पूरा हुन सकेको थिएन ।

“यहाँ पोस्टिङ भएको दिनदेखि नै साइपाल बेसक्याम्प पुग्ने सोच बनाएको थिएँ,” अवस्थीले भने, “दैनिक कामको व्यस्तताले मौका मिल्दैनथ्यो, यसपटक दुई दिन बिदा मिल्ने बित्तिकै पुगेर फर्किएँ ।”

मजदुर दिवससँगै जोडिएको लामो सप्ताहन्तको अवसरमा उनले साइपाल बेसक्याम्प पुगेर फर्किएको अनुभवलाई अविस्मरणीय बताए । साइपालको प्राकृतिक सौन्दर्यले आफूलाई निकै प्रभावित बनाएको उनको भनाइ छ ।

गत चैत २३ देखि लागू भएको दुई दिने सार्वजनिक बिदाले कर्मचारीहरूलाई घुमफिरका लागि समय मिल्न थालेपछि सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको संख्या बढेको छ । प्रायः सुनसान रहने साइपाल क्षेत्र अहिले नयाँ वर्षपछि नियमित जस्तै चहलपहल देखिन थालेको स्थानीयहरू बताउँछन् ।

कैलाली स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुँवरले पनि साइपाल पुगेर फर्किएपछि आफ्नो अनुभव साझा गरेका छन् । उनले अन्नपूर्ण र अपि बेसक्याम्प पुगिसके पनि साइपालको दृश्य अत्यन्तै आकर्षक लागेको बताए ।

“चिसो मौसममा तराईको गर्मीबाट छुटकारा पाउन साइपाल उत्कृष्ट गन्तव्य हो,” उनले भने, “दुई दिने बिदाले यस्तो यात्रा सम्भव बनाएको छ ।”

उनको नेतृत्वमा सात सदस्यीय टोली साइपाल पुगेको थियो । टोलीमा स्वास्थ्य क्षेत्रका विभिन्न अधिकारीहरू सहभागी थिए ।

बझाङ स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत पारस खड्काले साइपाल यात्राले कामको थकान कम गरी नयाँ ऊर्जा दिएको बताए । “लगातारको कामले थकित भएका थियौं, साइपाल पुगेपछि सबै थकान हरायो,” उनले भने ।

साइपाल गाउँपालिकाका कर्मचारी मिलन धामीका अनुसार वैशाख १ देखि २९ सम्म मात्रै ५ सयभन्दा बढी आन्तरिक पर्यटक साइपाल बेसक्याम्प पुगेका छन्, जसमध्ये करिब १३० जना विभिन्न कार्यालयका कर्मचारी रहेका छन् । उनका अनुसार यसअघि यति ठूलो संख्यामा कर्मचारी साइपाल पुगेको रेकर्ड छैन ।

पर्यटक आगमन बढेसँगै स्थानीय होमस्टे व्यवसाय पनि फस्टाएको छ । धलौनकी होमस्टे सञ्चालक रुद्मा बोहराका अनुसार वैशाखदेखि एक दिन पनि खाली बस्नु परेको छैन ।

“दिनमा १०–१५ जना पाहुना आइरहेका छन्,” उनले भनिन्, “कहिलेकाहीँ ठाउँ नभएर अन्यत्र पठाउनुपर्ने अवस्था पनि आउँछ ।”

स्थानीय तहका अनुसार साइपाल पदयात्रामा आउनेहरूले स्थानीय उत्पादनहरूसमेत खरिद गर्न थालेपछि ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ ।

गाउँपालिका अध्यक्ष मानवीर बोहराका अनुसार सामाजिक सञ्जालमार्फत यात्राका अनुभव र फोटो–भिडियो साझा हुँदा साइपालप्रति आकर्षण बढेको हो ।

बझाङका अन्य पर्यटकीय क्षेत्रहरू जस्तै खप्तड, सूर्मा सरोवरलगायत स्थानहरूमा पनि पछिल्लो समय आन्तरिक पर्यटनमा वृद्धि देखिएको छ । होटल व्यवसायीहरूका अनुसार घुमफिर गर्ने र फर्किने यात्रुहरूको संख्या नियमित रूपमा बढिरहेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन