कैलाली- कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनका लागि खटाइएका प्रदेश सरकारका कर्मचारीलाई नगर प्रहरी प्रयोग गरी कार्यालयबाट बाहिर निकालेकी छन् ।

प्रदेश सरकारले खटाएका कर्मचारी सोमबार हाजिर हुन अस्पताल पुगेका बेला मेयर शाहीले कार्यालय प्रवेशमै अवरोध गरेको आरोप कर्मचारीहरूले लगाएका छन् । उनीहरूका अनुसार नगर प्रहरीले लेखा अधिकृत गणेश विष्ट र नायब सुब्बा लक्ष्मी श्रेष्ठलाई अस्पताल परिसरबाटै बाहिर निकालेको हो ।
लम्कीचुहा अस्पतालका लागि प्रदेश सरकारले आठौँ तहका मेडिकल अफिसर डा. कमलेश प्रसाद यादव, छैटौँ तहका लेखा अधिकृत गणेश विष्ट र नासु लक्ष्मी श्रेष्ठलाई खटाएको थियो । १५ वैशाखमा सामाजिक विकास मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार डा. यादव तथा आर्थिक मामिला मन्त्रालयबाट विष्टलाई सरुवा गरिएको जनाइएको छ ।
कर्मचारीहरूले मेयर शाहीले “यो अस्पतालमा प्रदेश सरकारको कुनै अधिकार छैन” भन्दै अपमानजनक व्यवहार गरेको आरोपसमेत लगाएका छन् ।
प्रदेश सरकारले १५ शैयाको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने नीति अनुसार बजेट विनियोजन गरिसकेको छ । तर, समन्वयबिना अस्पताललाई प्रादेशिक घोषणा गरिएको भन्दै मेयर शाहीले विरोध जनाउँदै आएकी छन् ।
यसअघि १४ वैशाखमा सर्वोच्च अदालतले अस्पतालसम्बन्धी विवादमा प्रदेश सरकारको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । त्यसअघि नगरपालिकाले चैत २४ गते रिट दायर गर्दै अन्तरिम आदेश माग गरेको थियो ।
सर्वोच्चको निर्णयपछि प्रादेशिक अस्पताल सञ्चालनको बाटो खुलेको प्रदेश सरकारको दाबी छ । चालु आर्थिक वर्षमा अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले साढे चार करोड रुपैयाँ विनियोजन गरेको छ भने १४६ जनाको दरबन्दी स्वीकृत भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसअघि पनि अस्पतालको ब्यानर अनावरण कार्यक्रमका क्रममा मेयर शाहीले अस्पतालको मूल गेटमा दमकल र एम्बुलेन्स तेर्स्याएर कार्यक्रम अवरुद्ध गरेकी थिइन् । मेयर शाहीको यस्तो गतिविधि पटक–पटक चर्चामा र आलोचनामा पर्ने गरेको छ ।













