कैलाली- नेपाल मेडिकल काउन्सिलको विशेष अनुगमन टोलीले सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालित अधिकांश डेन्टल क्लिनिकहरूले जनस्वास्थ्यमा गम्भीर लापरबाही गरिरहेको फेला पारेको छ। दुवै जिल्लामा गरिएको आकस्मिक स्थलगत निरीक्षणमा चिकित्सकको अनुपस्थितिमा सञ्चालक वा कर्मचारीले नै उपचार गर्ने, दर्ता नभएका क्लिनिक सञ्चालन गर्ने तथा न्यूनतम स्वास्थ्य मापदण्ड समेत पालना नगर्ने अवस्था देखिएको हो।
काउन्सिलका सदस्य डा. अजय कुमार शाहको नेतृत्वमा विज्ञहरू डा. विकास खड्का, डा. अमृत राज जैशी र इन्स्पेक्टर जेनित कुँवरसहितको टोलीले कैलालीको धनगढी र अत्तरियामा सोमबार तथा कञ्चनपुरको महेन्द्रनगर, झलारी र आसपासका क्षेत्रमा मंगलबार गरी कुल २० भन्दा बढी क्लिनिकको अनुगमन गरेको थियो।
अनुगमनका क्रममा कैलालीको स्मृति डेन्टल क्लिनिकमा कार्यालय सहयोगीले नै बिरामीको दाँत सफा (स्केलिङ) गरिरहेको फेला परेको थियो भने सरसफाइको अवस्था अत्यन्त कमजोर रहेको र दर्ता कागजातसमेत उपलब्ध नगरिएको पाइएको छ।
अत्तरियाको शिखर डेन्टल क्लिनिकमा सञ्चालकले चिकित्सकको अभावमा आफैँले रूट क्यानल (आरसिटी) उपचार गर्ने गरेको स्वीकार गरेका छन्। त्यस्तै स्माइल डेन्टल क्लिनिकमा सीडीएस रोशन रेग्मीले नै सबै उपचार गर्ने गरेको पाइएको छ भने न्यु धनगढी डेन्टल क्लिनिकमा नवीकरण नभएको अवस्थामा सञ्चालकले नै बिरामी हेर्ने गरेको भेटिएको छ।
बुद्ध डेन्टल क्लिनिकमा दर्ता भए पनि चिकित्सकसँगको औपचारिक सम्झौता पत्र नभेटिएको र केही क्लिनिकहरू अनुगमन टोली आएको सूचना पाएपछि बन्द गरिएको थियो। युनिभर्सल, श्रीराम, उग्रतारा, न्यु समाज र लविस सेवा डेन्टल क्लिनिक अनुगमनका क्रममा बन्द अवस्थामा भेटिएका थिए।
कञ्चनपुरतर्फ गरिएको अनुगमनमा पनि अवस्था उस्तै देखिएको छ। गुलरियास्थित स्टार डेन्टल क्लिनिकमा कुनै शैक्षिक योग्यता नभएका व्यक्तिले नै बिरामीको उपचार गरिरहेको भेटिएपछि प्रहरीको रोहबरमा क्लिनिक बन्द गरिएको छ।
त्यसैगरी झलारीको यूएस डेन्टल क्लिनिक, न्यु शाही पन्चकोशी डेन्टल क्लिनिक तथा महेन्द्रनगरको यूएन डेन्टल क्लिनिकमा चिकित्सकको अनुपस्थितिमा सञ्चालकले नै उपचार गर्ने गरेको पाइएको छ। यूएन डेन्टल क्लिनिकमा विगत दुई वर्षदेखि चिकित्सक नरहेको समेत पुष्टि भएको छ।
न्यु विष्ट डेन्टल क्लिनिकमा सरसफाइ र उपकरण व्यवस्थापन अत्यन्त कमजोर रहेको पाइएको छ भने महाकाली डेन्टल हस्पिटल र शाही डेन्टल क्लिनिक अनुगमन टोली पुग्नुअघि नै बन्द गरिएको थियो।
यद्यपि केही क्लिनिकहरूले भने कानुनी प्रक्रिया पालना गरेको पाइएको छ। महेन्द्रनगरका हिमाल डेन्टल क्लिनिक, बिमल डेन्टल क्लिनिक र हुनैनाथ डेन्टल क्लिनिकमा चिकित्सकको उपस्थिति र दर्ता प्रक्रिया पूरा भएको भेटिएको छ। तर केहीलाई सरसफाइ र व्यवस्थापन सुधार गर्न निर्देशन दिइएको छ।
दुवै जिल्लाका अधिकांश क्लिनिकमा स्टेरिलाइजेशन (निर्मलीकरण) प्रणालीको अभाव, उपकरण फोहोर, उपचारसम्बन्धी अभिलेख नराख्ने जस्ता गम्भीर कमजोरी देखिएको काउन्सिलले जनाएको छ।
अनुगमन टोलीका अनुसार योग्य चिकित्सक बिना सञ्चालन भएका क्लिनिकहरूले जनस्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गरिरहेको निष्कर्ष निकालिएको छ। टोलीले ती क्लिनिकहरूलाई तत्काल बन्द गरी सिल गर्न तथा कानुनी कारबाही अघि बढाउन सम्बन्धित निकायलाई सिफारिस गरेको छ।













