कैलाली- सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) भित्रको आन्तरिक विवाद बुधबार निर्णायक मोडमा पुगेको छ। संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई हटाउने विषयमा केन्द्रीय नेतृत्व सक्रिय बनेसँगै अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरस्थित निवासमा प्रदेशका ११ सांसदसँग महत्वपूर्ण छलफल गरिरहेका छन्।
रावलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि नेतृत्व परिवर्तनको प्रयास हुँदै आए पनि सफल हुन सकेको थिएन। तर बुधबारको छलफलले भने दल नेता परिवर्तनको टुंगो लाग्ने सम्भावना बलियो देखिएको छ।
छलफल दल नेता परिवर्तनमै सीमित नभई प्रदेश सरकारको समीकरण फेरबदलसम्म पुगेको छ। हाल नेपाली कांग्रेस नेतृत्वको सरकारलाई एमालेले दिएको समर्थन फिर्ता लिने र नयाँ गठबन्धन बनाउने विकल्पमा समेत गम्भीर बहस भइरहेको स्रोतले जनाएको छ।
यसैबीच नेकपासँग सहकार्यको सम्भावनाबारे पनि शीर्ष तहमा संवाद सुरु भएको छ। उक्त सहकार्य सुदूरपश्चिमबाटै अघि बढाउने प्रस्ताव आउन सक्ने संकेत देखिएको छ।
हाल कमलबहादुर शाह नेतृत्वको सरकार कांग्रेस–एमाले गठबन्धनको समर्थनमा टिकिरहेको छ। ५३ सदस्यीय प्रदेशसभामा अहिले ५१ सदस्य मात्र सक्रिय रहेका छन्, जसले सत्ता र प्रतिपक्षबीचको शक्ति सन्तुलन निकै संवेदनशील बनाएको छ।
रावल हटेपछि नयाँ संसदीय दल नेता चयन झन् चुनौतीपूर्ण हुने देखिएको छ। उपनेता सन्तोष शर्मा केन्द्रीय नेतृत्वको प्राथमिकतामा परेका बताइए पनि उनको पक्ष–विपक्षमा तीव्र लविङ भइरहेको छ।
अन्य आकांक्षीमा प्रमुख सचेतक चक्रबहादुर मल्ल, सभापति धर्मराज पाठक र मन्त्री सुरेन्द्र पाल पनि प्रतिस्पर्धामा छन्। सहमति जुट्न नसके नेतृत्व परिवर्तनको एजेण्डा फेरि अल्झिने जोखिम कायमै छ।
आजको छलफलले सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण मात्र नभई राष्ट्रिय राजनीतिमा समेत प्रभाव पार्ने संकेत देखिएको छ।













