डडेल्धुरा- जिल्लाको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सकसहित १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ।
गाउँपालिकाको केन्द्र वडा नम्बर २ बडाल नजिक देवखेतमा निर्माण गरिएको अस्पताल गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले उद्घाटन गरेका हुन्।
अस्पताल सञ्चालनमा आएपछि स्थानीयले अब गाउँमै सहज स्वास्थ्य सेवा पाउने भएका छन्। अध्यक्ष कार्कीले उपचारका लागि डडेलधुरा सदरमुकाम, धनगढी, नेपालगञ्ज, काठमाडौँ तथा भारतका विभिन्न स्थानसम्म धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे।
सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा १४ करोड ७६ लाख रुपैयाँ लागतमा उक्त १० शय्याको अस्पताल निर्माण गरिएको हो।
गाउँपालिकाका उपाध्यक्ष ज्ञानु सेटी देउवाका अनुसार हाल एक जना एमबिबिएस चिकित्सकसहित स्वास्थ्य सेवा सुरु गरिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। सोही कार्यक्रमअन्तर्गत डडेलधुराका नवदुर्गा, आलीताल, अजयमेरु र भागेश्वर गाउँपालिकामा पनि अस्पताल निर्माण सुरु गरिएको थियो।
तर ती पालिकाहरूमा भने अस्पताल निर्माण कार्य अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।













