काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
अख्तियारका अनुसार गाउँपालिकाअन्तर्गत रहेको सुनकुडा माध्यमिक विद्यालयमा विभिन्न शीर्षकमा सरकारी रकम हिनामिना गरिएको आरोपमा मुद्दा चलाइएको हो।
मुद्दामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसँगै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट र गाउँपालिकाका सब–इन्जिनियर किरण भण्डारी प्रतिवादी छन्।

अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट र लेखापाल हर्कबहादुर विष्टसँग २६ लाख ५४ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ। त्यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्ट र सब–इन्जिनियर किरण भण्डारीसँग २० लाख रुपैयाँ बिगो दाबी गरिएको छ।
घटनाबारे विशेष अदालतमा सुनुवाइ प्रक्रिया अघि बढ्ने अख्तियारले जनाएको छ।













