२०८३ असार १८
खाेज्नुहाेस
विज्ञापन

अधुरै रह्यो ७ वर्षको न्याय खोजी, अछामकी जानकीको दुःखद निधन

विज्ञापन
Image
विज्ञापन

अछाम- निरन्तर सात वर्षसम्म प्रहरी, प्रशासन र अदालतका ढोका ढकढक्याउँदै न्याय खोजिरहेकी अछामकी एक महिलाको दुःखद निधन भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाँडाकी ३८ वर्षीया जानकी धमलाले आफूले भोग्दै आएको अन्याय, मानसिक पीडा र एक्लोपनबारे सामाजिक सञ्जालमा भावुक स्टाटस लेखेपछि जीवन त्यागेको परिवारजनले बताएका छन्।

जानकी सात वर्षदेखि प्रहरी कार्यालय, वडा कार्यालय, स्थानीय तहको न्यायिक समिति, जिल्ला अदालत हुँदै उच्च अदालतसम्म पुगेर न्याय खोजिरहेकी थिइन्। लामो समयसम्म मुद्दा टुंगो नलाग्दा र निरन्तर मानसिक दबाब खेप्नुपर्दा उनी गहिरो तनावमा परेको परिवारको भनाइ छ। सामाजिक सञ्जालमा लेखिएको अन्तिम स्टाटसमा उनले परिवारबाट अस्वीकार, समाजबाट बहिष्कार र कानुनी प्रक्रियाप्रति बढ्दै गएको निराशा पोखेकी थिइन्। छोराछोरीसँग टाढा पारिएको पीडाले आफूलाई झनै एक्लो बनाएको उनले उल्लेख गरेकी थिइन्।

जानकीका श्रीमान् चन्द्र ढकाल रोजगारीका लागि भारतमा बस्दै आएका थिए। सात वर्षअघि उनले दोस्रो विवाह गरेको थाहा पाएपछि जानकी न्याय खोज्दै सदरमुकाम मंगलसेन पुगेकी थिइन्। यही घटनाबाट सुरु भएको उनको संघर्ष विभिन्न निकायमा अल्झिँदै लामो समयसम्म चलिरह्यो। करिब तीन वर्षअघि बहुविवाहसम्बन्धी मुद्दा अछाम जिल्ला अदालतमा दर्ता भए पनि पर्याप्त प्रमाण नपुगेको भन्दै फैसला जानकीको विपक्षमा आएको थियो, जसले उनको मनोबल थप कमजोर बनाएको आफन्तले बताएका छन्।

पछि उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बहुविवाह भएको ठहर गर्‍यो र श्रीमान् तथा उनकी कान्छी श्रीमतीलाई सजाय सुनायो। सजायबराबरको रकम तिरेपछि श्रीमान् जेल नबसी छुटे। तर अदालतको फैसलापछि पनि जानकीको जीवन सुरक्षित बन्न नसकेको परिवारको भनाइ छ। उनी पटक–पटक मंगलसेनस्थित सेफ हाउसमा बस्न बाध्य भइन्, जहाँ उनले सिलाइकटाइ तालिम र मनोसामाजिक परामर्श लिएकी थिइन्।

अदालतको फैसलापछि श्रीमान्ले सम्बन्धविच्छेदको मुद्दा दायर गरे। प्रेम विवाह गरेकी जानकी सम्बन्धविच्छेद चाहँदिनथिन् र परिवारसँग पुनः बस्न चाहन्थिन्। तर छोराछोरीसँग भेटघाटमा समेत रोक लगाइएपछि उनी गहिरो मानसिक पीडामा परेकी थिइन्। यही पीडाले उनलाई सबैभन्दा ठूलो चोट पुर्‍याएको आफन्तको भनाइ छ।

जानकीका काका तथा कमलबजार नगरपालिका–५ का वडाध्यक्ष सत्यराज तिमिल्सेनाका अनुसार श्रीमान् र परिवारजनबाट निरन्तर शारीरिक तथा मानसिक तनाव दिइएको विषय जानकीले सामाजिक सञ्जालमै उल्लेख गरेकी थिइन्। “श्रीमान्ले अर्को विवाह गरेपछि जानकीमाथि निरन्तर दबाब र उपेक्षा भयो, त्यो सहन नसकेर उनले यो कठोर निर्णय लिएको देखिन्छ,” उनले भने।

जानकीको शव हाल जिल्ला अस्पतालमा राखिएको छ। दोषी पक्ष उपस्थित नभएसम्म शव नउठाउने अडान परिवारले लिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन