२०८३ जेष्ठ २८
खाेज्नुहाेस
विज्ञापन

आलितालमा नदीजन्य पदार्थ उत्खनन् तीन महिनाका लागि बन्द

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा-  आलिताल गाउँपालिकाले नदीजन्य पदार्थको उत्खनन्, बिक्री तथा निकासी कार्यमा अस्थायी रोक लगाएको छ।

गाउँपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थको उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०७९ अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाइने व्यवस्था रहेको जानकारी दिएको हो।

सूचनाअनुसार गाउँपालिका क्षेत्रभित्र नदीजन्य पदार्थ उत्खनन् गर्ने सम्पूर्ण गतिविधि २०८३ असार १ गतेदेखि भदौ मसान्तसम्म पूर्ण रूपमा बन्द रहनेछ। वर्षायाममा नदी तथा खोलाको प्राकृतिक बहाव कायम राख्न, वातावरणीय सन्तुलन जोगाउन तथा सम्भावित प्राकृतिक जोखिम न्यूनीकरण गर्न उक्त निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले तोकिएको अवधिमा कुनै व्यक्ति वा संस्थाले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरेको वा कानुनविपरीत गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्द जोशीद्वारा हस्ताक्षरित सूचनामा सम्बन्धित सबै सरोकारवाला, व्यवसायी तथा सर्वसाधारणलाई नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ। गाउँपालिकाले वातावरण संरक्षण र नदी प्रणालीको दीर्घकालीन व्यवस्थापनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन