२०८३ जेष्ठ १५
खाेज्नुहाेस
विज्ञापन

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु, करिब १ हजार खेलाडी सहभागी

विज्ञापन
Image
विज्ञापन

डडेल्धुरा- सुदूरपश्चिम प्रदेशस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि डडेल्धुराको टुडिखेलमा सुरु भएको छ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगितामा प्रदेशका नौ वटै जिल्लाबाट खेलाडीहरूको सहभागिता रहेको छ। डडेल्धुरासहित कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, अछाम, बझाङ, बाजुरा र डोटीबाट आएका खेलाडी तथा प्रशिक्षकसहित करिब एक हजार जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।

पालिकास्तरका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूलाई यस प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी गराइएको हो। यसअघि कैलाली र कञ्चनपुरमा मात्र आयोजना हुँदै आएको यो प्रतियोगिता पहिलोपटक डडेल्धुरामा सञ्चालन गरिएको हो। आयोजकका अनुसार यसले पहाडी जिल्लामा खेलकुद गतिविधि विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला भलिबल, कबड्डी, कराते, तेक्वान्दो र एथलेटिक्स विधाका खेलहरू समावेश छन्। जिल्लाबाहिरबाट आएका खेलाडी र प्रशिक्षकका कारण सदरमुकाम क्षेत्रमा चहलपहल बढेको छ।

उद्घाटन समारोहमा प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव लोकबहादुर खड्काले सरकारको कुल बजेटको एक प्रतिशत मात्र खेलकुद क्षेत्रमा विनियोजन गर्न सके प्रदेशभर खेलकुद गतिविधि थप प्रभावकारी हुने बताए।

त्यसैगरी, प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारीले खेल प्रतिभा विकासका लागि स्थानीय र प्रदेश सरकारबीच सहकार्य आवश्यक रहेको बताए।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन