डडेल्धुरा- ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्याउने उद्देश्यले सदरमुकाम डडेल्धुरामा सञ्चालन गरिएको हाटबजार बन्द भएको छ ।
गत चैत १४ गतेदेखि अमरगढी नगरपालिका–५ स्थित बसपार्क छेउमा प्रत्येक शनिबार सञ्चालन हुँदै आएको हाटबजारमा किसानको सहभागिता न्यून भएपछि कार्यक्रम बन्द भएको हो ।
स्थानीय उत्पादनको बजारीकरण, बिचौलियाको प्रभाव घटाउने र किसानलाई उचित मूल्य दिलाउने लक्ष्यसहित कृषि ज्ञान केन्द्र, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (आलु सुपरजोन) र उद्योग वाणिज्य संघको समन्वयमा हाटबजार सञ्चालन गरिएको थियो । तर सुरुवाती केही दिन चहलपहल देखिए पनि किसानले उत्पादन लिएर नआउँदा योजना निरन्तरता पाउन सकेन ।
हाटबजार व्यवस्थापन समितिका अनुसार उपभोक्ताको उपस्थिति राम्रो भए पनि बिक्रीका लागि पर्याप्त उत्पादन नआएपछि धेरै स्टल खाली रहँदै आएका थिए ।
कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले किसानले व्यापारीमार्फत गाउँमै उत्पादन बिक्री गर्ने भएकाले हाटबजारसम्म ल्याउने आवश्यकता नठानेको बताए । उनका अनुसार पर्याप्त समन्वय र दीर्घकालीन योजना अभावले कार्यक्रम प्रभावकारी बन्न सकेन ।
हाटबजार व्यवस्थापन समिति संयोजक तथा अमरगढी–५ का वडाध्यक्ष टंकबहादुर क्षेत्रीले किसानलाई निःशुल्क स्टल उपलब्ध गराउँदा पनि सहभागिता कमजोर रहेको बताए । उनका अनुसार आगामी दिनमा किसानका उत्पादन संकलन गरी बजारसम्म ल्याउने वैकल्पिक योजना बनाइनेछ ।
यसअघि पनि डडेल्धुरामा हाटबजार सञ्चालनको प्रयास गरिएको भए पनि व्यवस्थापन कमजोर हुँदा सफल हुन सकेको थिएन ।












