२०८३ श्रावण १२
खाेज्नुहाेस
विज्ञापन

सलमान खानसँगको फिल्म पुरा नहुँदै अस्ताए प्रशान्त

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ-  आइतबार हृदयघातका कारण निधन भएका अभिनेता प्रशान्त तामाङ चर्चित गायक तथा अभिनेता हुन् । उनी भारतीय टेलिभिजन च्यानल सोनी इन्टरटेन्मेन्ट टिभीको चर्चित रियालिटी शो ‘इन्डियन आइडल–२००७’ बाट एकाएक चर्चामा आएका थिए । सोही प्रतियोगिताका विजेता बनेपछि तामाङको सांगीतिक यात्राले अन्तर्राष्ट्रिय पहिचान पाएको थियो ।

तामाङ भारतीय प्रहरीका पूर्व जवान समेत हुन् । ‘इन्डियन आइडल’मा सहभागी हुँदासमेत उनी प्रहरी सेवामै कार्यरत थिए । उनका पिता प्रहरी सेवामै रहेका बेला सवारी दुर्घटनामा निधन भएपछि तामाङले कोलकाता प्रहरीमा सेवा गर्ने अवसर पाएका थिए ।

उनको जन्म भारतको दार्जिलिङस्थित तुङ्सुङ क्षेत्रमा भएको हो । जीवनमा कहिल्यै औपचारिक रूपमा संगीत शिक्षा नलिएका तामाङले ‘इन्डियन आइडल’ जितेपछि मात्र व्यावसायिक गायन सुरु गरेका थिए ।

प्रतियोगिता जितेपछि उनले पहिलोपटक पोखरा र काठमाडौँमा कन्सर्ट गरेका थिए । त्यसपछि उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’ मार्फत अभिनय क्षेत्रमा पाइला टेकेका थिए ।

अभिनय यात्रामा उनले नेपाली फिल्म ‘परदेशी’ र ‘परदेशी–२’ मा अभिनय गरे । उनको पछिल्लो नेपाली फिल्म ‘परदेशी–२’ नै हो । उनले अभिनय गरेका तीनवटै नेपाली फिल्म दर्शकको मन जित्न सफल भएका र हिट मानिएका छन् ।

फिल्म ‘परदेशी’ र ‘परदेशी–२’ का निर्माता राजेश बंशलका अनुसार तामाङ पछिल्लो समय अभिनेता सलमान खान अभिनीत भारतीय फिल्म ‘ब्याटल अफ गलवान’ मा काम गरिरहेका थिए । सो फिल्ममा उनले चाइनिज आर्मीको भूमिका निर्वाह गरेका छन् ।

बंशलका अनुसार उक्त फिल्मको डबिङ कार्य अझै बाँकी छ । ‘डबिङका लागि चाइनिज भाषा सिक्ने तयारी गर्दैछु दाइ भन्थे,’ बंशलले भने, ‘आज मृत्यु भएको खबर सुन्दा पत्याउनै सकिनँ ।’
परिवारका सदस्यबाट मृत्यु भएको पुष्टि भएपछि मात्रै यथार्थ स्वीकार गर्नुपरेको उनले बताए ।

बंशलका अनुसार प्रशान्त तामाङ अत्यन्त सहयोगी, मिलनसार र मिहिनेती व्यक्ति थिए ।
‘सबै कुरालाई सकारात्मक रूपमा हेर्थे । केही दिनपछि भेट्ने कुरा पनि भएको थियो,’ बंशलले भने, ‘तर अचानक आएको मृत्युको खबरले निकै दुखी बनाएको छ ।’

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन