सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३र०८४ को बजेट पुनर्लेखन गर्ने तयारी गरेको छ। यसका लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरिएको बजेटमा रहेका पुँजीगततर्फका सबै योजना तथा कार्यक्रम हटाएर नयाँ योजनासहित पुनः बजेटमा समावेश गर्ने तयारी गरिएको हो।

प्रदेशमा करिब दुई महिनादेखि कायम बजेट शून्यता अन्त्य गर्न सरकारले बजेट पुनर्लेखन गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले बताए।
उनका अनुसार यसअघि प्रस्तुत बजेटमा त्रुटि रहेकाले पारित हुन नसकेको हो। पुँजीगततर्फका आयोजना तथा कार्यक्रमका विषयमा तत्कालीन सत्ता गठबन्धनभित्रै विवाद भएपछि सत्तापक्षबाटै संशोधन प्रस्ताव दर्ता भएको र बजेट निर्माण प्रक्रियामा बेथिति देखिएकाले पुराना आयोजना तथा कार्यक्रम हटाएर नयाँ ढंगले बजेट तयार गर्न लागिएको मन्त्री रावलले बताए।

तर पुँजीगततर्फ सबै आयोजना नयाँ मात्रै राखिने भने नभएको उनले स्पष्ट पारे। आवश्यक र प्राथमिकताका आधारमा केही पुराना आयोजना पनि समावेश गरिने तथा छुटाउनै नहुने नयाँ आयोजना पनि बजेटमा राखिने उनले बताए। चालुतर्फका सबै कार्यक्रम र खर्च शीर्षक हटाइने नभए पनि आवश्यकताअनुसार चालु बजेटमा समेत परिमार्जन गरिने उनको भनाइ छ।
यसैबीच, पुँजीगत तर्फका आयोजना हटाएर नयाँ योजना समावेश गर्ने तयारीसँगै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले नयाँ आयोजना तथा सुझाव मागेको छ। भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाट ‘सरल’ ले सूचना जारी गर्दै गुगल फाराममार्फत नयाँ योजना र सुझाव पठाउन आग्रह गरेका छन्।
मन्त्री भाटका अनुसार मन्त्रालय तथा सरकारका कार्यालयमा पहुँच नभएका नागरिकले समेत आफ्ना योजना सहज रूपमा सरकारसमक्ष पुर्याउन सकून् भन्ने उद्देश्यले गुगल फाराममार्फत आयोजना संकलन गर्न थालिएको हो। प्राप्त आयोजनामध्ये प्राथमिकताका आधारमा केही चालु आर्थिक वर्षकै बजेटमा समावेश गरिने र केहीलाई आगामी आर्थिक वर्षका लागि पूर्वतयारीमा राखिने उनले बताए।












