२०८३ कार्तिक ९
खाेज्नुहाेस

भोटेकोसी बाढीले डडेल्धुरालाई दिएको पिडा

Image

भदौ १० गते भोटेकोसीमा आएको बिनासकारी बाढीले धेरै धनजन वगायो यसका साथै धेरै परिवारको सपनाहरु पनि त्यही बाढीमा बगेको छ ।
बाढी आएको भोली पल्ट सुदूरपश्चिका १३३ जना मानिसहरु बाढीमा सम्पर्क विहिन भएको तथ्यांक बाहिर आयो जस मध्ये डडेल्धुराका १७ जना युवाहरुको नाम समावेस थियो जो रोजगारीका लागी त्यस क्षेत्रमा थिए ।


बिस्तारै सम्पर्क विहिनहरु मध्ये केही सम्पर्कमा आउन थाले सुदूरपश्चिम बाट सम्पर्क विहिन भनिएका १३३ मध्ये ७१ जना सम्पर्कमा आए भने अझै पनि ७१ जना बेपत्ता नै छन् । सुदुरपश्चिमका बेपत्ताहरु विस्तारै सम्पर्कमा आउन थाले पछी आफ्ना आफन्तहरु पनि सम्पर्कमा आउने झिनो आशले परिवारका सदश्यहरु तथा छिमेकीहरुले कैयौ रात आँखा झिमिक्क पारेनन ।
विनाशकारी बाढीले डडेल्धुराका १७ जना युवाहरु जो रोजागारीको सिसिलामा त्यस क्षेत्रमा थिए उनिहरु लाई आजको मिति सम्म पनि सम्पर्क विहिन बनाएको छ न सास भेटिएको छ न लास ।
डडेल्धुराको नवदुर्गा गाँउपालिका वाट १ जना, अमरगढी नगरपालिका बाट २ जना, गन्यापधुरा गाँउपालिका बाट ३ जना र आलिताल गाँउपालिका बाट ११ जना युवाहरु उक्त बाढीमा हराएका छन् । हराएका मध्ये धेरैको त कासकुशको शव बनाई हिन्दु परम्परा अनुसार अन्तिम संस्कार पनि गरिसकिएको छ ।

आलितालः कसैकोे कोख नै रित्तियो, अर्काे ठाँउको गाँउ नै

कास कुसको शव बनाई अन्त्येस्टी गरिदै ।

मजदुरीको क्रममा रसुवा क्षेत्रमा रहेका आलिताल गाँउपालिका वडा नं.७ दुधेखालीका टेक बहादुर घर्ती मगरका तिन भाई छोरा हरु बाढीमा हराएका छन् । स साना नावालक सन्तान, कलकलाउदो उमेरका श्रीमती र बुढेशकालमा सहारा चाहिने उमेरमा पुगेका बुवा आमा लाई छोडी मजदुरी गर्न उक्त क्षेत्रमा पुगेका तिन भाई छोरा हरुको न लास भेटियो न साश भेटियो ।

बाढीमा हराईरहका आफ्नो सन्तानहरु लाई सके सम्म जिवित नै भेट्ने आशा सहित बुवा टेक बहादुर घटनास्थल सम्म पुगे …भौतारिए…चहारिए तर न लास भेटियो न सास भेटियो । अझै पनि शुखद समाचार सुन्न पाईयोस भन्ने कामना र झिनो आशा सहित घर फर्केका छन र उता बाट कुनै खवर आएको छैन ।

उता आलिताल गाँउपालिका वडा नं.३ कान्तिपुरका ६ जना युवाहरु बाढीमा सम्पर्क विहिन भएका छन् । भर्खर लाउलाउ खाउ खाउ भन्ने उमेरका युवाहरु गुमाउदा कान्तिपुर गाँउ नै रित्तिएको जस्तो महसुस गरिरहेका छन कान्तिपुरबासी । तर कुनै खवर प्राप्त गर्न सकिएको छैन । उनिहरु करिव एक वर्ष पहिले मात्र रोजागारीका लागी उक्त क्षेत्र पुगेका थिए ।

घरव्यवहार धान्न र परिवार लाई लागेको रिण तिर्न भनि विरानो ठाँउ पुगेका कान्तिपुरका ति ६ जना युवाहरु सम्भवतः कहिल्यै फर्कने छैनन, परिवार लाई खुसी दिनका लागी आफुु दुखः गर्न गएका उनिहरुले जिवनभर विर्सन नसक्ने पिडा दिएर गएका छन् परिवार लाई अनि समाज लाई ।

डडेल्धुराले दक्ष जनशक्ति पनि गुमायो भोटकोसी बाढीमा


कहाली लाग्दो भोटेकोसी बाढीले डडेल्धुरा बाट मजदुरी गर्न गएका युवा संगै दक्ष जनशक्ति पनि गुमाएको छ । बाढीमा हराएका अमरगढी नगरपालिकाका ईन्द्र बहादुर थापा मगर नेपाली सेनाका सेवानिवृत सुवेदार थिए भने अर्का शेर बहादुर शाहु ईन्जिनियर थिए । नवदुर्गाका प्रशान्त ऐर पनि प्राविधिक हुन भने आलितालका नविन साँउद सर्वे इन्जिनियर हुन भने गन्यापधुराका दुई जना नेपाली सेनामा कार्यरत थिए भने एक जना हाईड्रो पावरमा काम गर्थे  ।

स्थानियको प्रयास र अपेक्षा

घटना घटे लगत्तै पिडामा मल्हम लगाउन स्थानीय व्यक्ति र स्थानिय सरकार बाट आफु सक्दो प्रयास हरु गरिए । बाढीमा हराईरहेका आफन्तहरुको खोजीमा घटनास्थल सम्म जानका लागी स्थानीय शिक्षक ईन्द्र बहादुर साँउद लगायतका युवाहरुले आन्तरिक रुपमा अभियान चलाएर केही आर्थिक संकलन गरि टेक बहादुर घर्ती र एक जना अर्का लाई प्लेन टिकट र अन्य सामान्य खर्चको जोहो गरियो ।

डडेल्धुराका जनप्रतिनिधि तथा समाजसेवीहरु घटनास्थलमा गई खोजीको लागी प्रयास गर्दै ।

अलि वढी प्रभावित भएको आलिताल गाँउपालिका वडा नं.३ का वडा अध्यक्ष वल बहादुर बुढामगर सम्पर्क विहिन भएका युवाहरुको केही आफन्तहरु लाई लगेर आफै घटनास्थल सम्म पुगे । आपतकालिन अवस्थामा द्रुतरुपमा खोजी तथा उद्धारका लागी वडा अध्यक्ष वल बहादुर बुढा मगरले डडेल्धुरा जिल्ला बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदश्य तथा प्रतिनिधि सभा सदश्यहरु संघ अनुरोध गरे तर कुनै उपाय लागेन ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री लाई भेटि खोज तथा उद्धारका लागी अनुरोध गर्दै जनप्रतिनिधि तथा पिडित परिवारका सदश्य

आफन्त सहित फर्किने क्रममा सुदुरपश्चिम प्रदेशका मूख्यमन्त्रि खगराज भट्टलाई भेटि बाढीमा हराईरहेका हरुको खोज तथा उद्धार र पिडित परिवार लाई सक्दो सहयोगको लागी ज्ञापनपत्र बुझाएर फर्किएका छन् ।
निकै निम्न आयस्तरभएको परिवार तथा मजदुरी नगरिकन दिन गुजारा गर्न नसक्ने परिवारको सदश्यहरु नै सम्पर्क विहिन भए पनि दुई छाक खानाको लागी पनि समस्या पर्ने देखिएकोले स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार बाट केही पहल होस भनेर अपेक्षा गरिएको वडा अध्यक्ष बल बहादुर बुढा मगर बताउछन् ।

भोटेकोसी बाढी प्रभावित परिवारको दिगो व्यवस्थापन आवश्यक

भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत, खाद्यान्न, लत्ताकपडा, अस्थायी आवास तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउनु मानवीय दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । विपद्को समयमा प्रदान गरिने यस्तो राहतले पीडित परिवारलाई तत्कालको संकटबाट केही हदसम्म जोगाउन सहयोग गर्छ । तर राहत वितरणमै सीमित भएर प्रभावित परिवारको समस्या समाधान हुँदैन । अब उनीहरूको दिगो पुनःस्थापना र जीविकोपार्जनका लागि दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ ।