२०८३ भाद्र २५
खाेज्नुहाेस

भागेश्वर कृषि तथा पशुपालन फर्मः कृषि उत्पादनसँगै दक्ष कृषि प्राविधिक उत्पादन गर्ने थलो

Image

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–१, लकतडामा अवस्थित भागेश्वर कृषि तथा पशुपालन फर्म केवल कृषि तथा पशुजन्य उत्पादन गर्ने व्यावसायिक फर्म मात्र होइन, यो नयाँ पुस्ताका दक्ष कृषि प्राविधिक उत्पादन गर्ने एक उत्कृष्ट प्रयोगात्मक शिक्षालयका रूपमा समेत परिचित बन्दै गएको छ । व्यावसायिक कृषि, पशुपालन, सीप विकास र व्यवहारिक शिक्षालाई एकै ठाउँमा जोड्दै आएको यस फर्मले विगत केही वर्षदेखि कृषि शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्दै आईरहेको छ ।

यस वर्ष पनि बझाङ, बैतडी र डोटी जिल्लाका विभिन्न कृषि शिक्षण संस्थामा कृषि जेटिए अध्ययनरत दर्जनौँ विद्यार्थीले यहाँ छ महिनाको प्रयोगात्मक अभ्यास (इण्टर्नसिप) सफलतापूर्वक सम्पन्न गरेका छन ्। अभ्यास अवधिभर विद्यार्थीहरूले कक्षाकोठामा सैद्धान्तिक रूपमा अध्ययन गरेका विषयहरूलाई प्रत्यक्ष खेतबारी, बगैँचा, पशुशाला तथा कृषि उद्यममा प्रयोग गर्दै व्यवहारिक सीप हासिल गरेका छन् । कार्यक्रम सम्पन्न भएपछि फर्मले उनीहरूलाई सम्मानसहित विदाइ समेत गरेको छ ।

भागेश्वर कृषि तथा पशुपालन फर्मको विशेषता भनेको यहाँ आउने विद्यार्थीलाई सिकाइको अवसर मात्र उपलब्ध गराउनु होइन, उनीहरूको सम्पूर्ण बसाइलाई सहज बनाउनु पनि हो । अभ्यास अवधिभर विद्यार्थीहरूलाई निःशुल्क आवास तथा खाना उपलब्ध गराइन्छ । आवश्यकताअनुसार कहिलेकाहीँ पकेट खर्चसमेत उपलब्ध गराइने व्यवस्था रहेको छ । यसले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई समेत व्यवहारिक शिक्षा प्राप्त गर्न सहज बनाएको छ ।

विद्यार्थीहरूले यहाँ कृषि उत्पादनको सम्पूर्ण प्रक्रिया नजिकबाट सिक्ने अवसर पाउँछन् । खेतबारी छनोट, जमिन तयारी, मल व्यवस्थापन, बीउ छनोट, नर्सरी स्थापना, रोपाइँ, सिँचाइ, गोडमेल, रोग तथा कीरा व्यवस्थापन, पशुपालन, आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन संकलन, ग्रेडिङ, प्याकेजिङ र बजारीकरणसम्मका सम्पूर्ण चरणमा प्रत्यक्ष संलग्न भएर काम गर्ने अवसर प्राप्त गर्छन् । यसले उनीहरूलाई भविष्यमा आत्मनिर्भर कृषक, कृषि प्राविधिक वा सफल कृषि उद्यमी बन्न आवश्यक व्यावहारिक अनुभव प्रदान गर्दछ ।

फर्ममा प्रयोगात्मक अभ्यास गरिसकेका धेरै विद्यार्थीले आफूले सिकेको सीपलाई आफ्नै गाउँमा प्रयोग गरी व्यावसायिक कृषि सुरु गरेका छन् भने केहीले सरकारी तथा गैरसरकारी क्षेत्रमा कृषि प्राविधिकका रूपमा रोजगारीसमेत प्राप्त गरेका छन्। यसले भागेश्वर कृषि तथा पशुपालन फर्म व्यवहारिक शिक्षाको प्रभावकारी केन्द्र भएको पुष्टि गर्छ।

विद्यार्थीहरूका अतिरिक्त कृषि क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी निकाय, कृषक समूह, सहकारी संस्था, कृषि अभियन्ता, युवा उद्यमी तथा अनुसन्धानकर्ताहरू पनि अध्ययन, अवलोकन र अनुभव आदानप्रदानका लागि नियमित रूपमा यस फर्ममा पुग्ने गरेका छन्। आधुनिक कृषि प्रणाली, एकीकृत कृषि तथा पशुपालन, उत्पादन व्यवस्थापन र व्यावसायिक कृषि सञ्चालनका विविध पक्षबारे जानकारी लिन आउनेहरूको संख्या वर्षेनी बढ्दै गएको छ ।

स्थानीयस्तरमा रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको विस्तार तथा युवा पुस्तालाई कृषिप्रति आकर्षित गराउने कार्यमा पनि यस फर्मले उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । ग्रामीण क्षेत्रमा रहेर पनि गुणस्तरीय कृषि अभ्यास र व्यवहारिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा भागेश्वर कृषि तथा पशुपालन फर्म स्थापित हुँदै गएको छ ।

सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट कृषि तथा पशुपालन फर्ममध्ये एकका रूपमा परिचित यस संस्थाले उत्पादनसँगै दक्ष जनशक्ति निर्माणलाई आफ्नो मुख्य उद्देश्य बनाएको छ। कृषि शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नराखी व्यवहारिक सीपसँग जोड्ने यसको अभ्यासले विद्यार्थी, कृषक र कृषि क्षेत्रमा काम गर्ने सम्पूर्ण सरोकारवालाका लागि प्रेरणाको स्रोत बनेको छ ।

भविष्यमा यस्ता प्रयोगात्मक कृषि केन्द्रहरूको विस्तार गर्न सके कृषि शिक्षाको गुणस्तर थप सुधार हुने, दक्ष कृषि जनशक्ति उत्पादनमा टेवा पुग्ने र नेपालमा व्यावसायिक कृषिको विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ । त्यसैले भागेश्वर कृषि तथा पशुपालन फर्म केवल एउटा कृषि फर्म होइन, व्यवहारिक कृषि शिक्षाको उत्कृष्ट नमुना, सीप विकासको केन्द्र र कृषि उद्यमशीलताको प्रेरणादायी पाठशाला हो ।